धुलिखेलमा काँग्रेसले धोका दिएपछि समाजवादीमा हलचल



१८ वैशाख, काभ्रेपलाञ्चोक – नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्लामा पाँच दलिय गठबन्धनले प्रमुख र उपप्रमुख पद भागबण्डा गरेको भएपनि काँग्रेसले धोका दिएपछि गठबन्धनमा हलचल मच्चिएको छ । काभ्रेका १३ वटा स्थानीय थह मध्ये, एकीकृत नेकपा समाजवादीले दुई नगरपालिका, माओवादी केन्द्रले चारवटा गाउँपालिका र नेपाली काँग्रेसले चारवटा नगर र तीन वटा गाउँपालिकाको प्रमुख पद पाएकोमा नेपाली काँग्रेसले धुलिखेल नगरपालिकामा उम्मेदवार खडा गरेको छ ।

पाँच दलिय गठबन्धनमध्ये तीन दल रहेको काभ्रेको धुलिखेलमा नेकपा एमालेबाट अशोक व्याञ्जु, एकीकृत नेकपा समाजवादीका तर्फबाट दयासागर श्रेष्ठ उम्रमेदवार छन् भने नेपाली काँग्रेसका धुलिखेल नगर सभापति विदुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनमा समाजवादीको भागमा परेको भएपनि समाजवादीको बढीमा ३ सदय देखि ५ सय मात्र मत रहेको भन्दै नेपाली काँग्रेस धुलिखेलले विरोध जनाउँदै नगर समितिका सभापतिलाई नै प्रमुख पदमा खडा गरेको मात्र छैन, गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उपप्रमुख पदका उम्मेदवार रहेका निराजन जंगम लगायत जिम्मेवार नेताहरुनै स्वतन्त्र उम्मेदवारलाई साथ लिएर प्रचार अभियानमा जुटेका छन् ।

स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिन्छन् भन्ने आशामा रहेको समाजवादीलाई उनले उम्मेदवारी कायम राखेपछि छटपटी चलेको छ भने नेपाली काँग्रेसका नेता कार्यकर्ताले उम्मेदवारी कायम राखेको खुसीयालीमा बस्नेतको चुनाव चिन्ह जेब्रा र नेपाली काँग्रेसको झण्डा सहित र्याली नै निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्