काभ्रेमा सक्रिय संक्रमितको संख्या छ सय नाघ्यो, तीन जना अस्पताल भर्ना १ जनाको मृत्यु



४ माघ, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लामा कोभिड – १९ का सक्रिय संक्रमितको संख्या छ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्क अनुसार आज १ सय ४८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ सय २३ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी धुलिखेलका छन् । धुलिखेल नगरपालिकामा २ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बनेपा नगरपालिकामा १ सय ८२, पनौती नगरपालिकामा ७४ र नमोबुद्ध नगरपालिकामा ५१ जना सक्रिय संक्रमित रहेका छन् । आज सम्मको तथ्याङ्क अनुसार पाँचखाल नगरपालिकामा ३२, मण्डनदेउपुर नगरपालिकामा २५, चौरी देउराली गाउँपालिकामा २४, भुम्लु गाउँपालिकामा १२, महाभारत र रोशी गाउँपालिकामा ६/६, तेमाल गाउँपालिकामा ३ र बेथानचोक गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् भने खानीखोला गाउँपालिकामा भने सक्रिय संक्रमितको संख्या शून्य छ ।

जिल्ला भर ६ सय २३ जना सक्रिय संक्रमित भएपनि हालसम्म तीन जना मात्र अस्पतालमा भर्ना भएको र बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्