नेपालको पत्रकारिता क्षेत्र अमर्यादित अविश्वसनीय बन्दै गयो : बाँस्कोटा



२८ पौष, काभ्रेपलाञ्चोक – नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारिताक्षेत्र अमर्यादित र अविश्वसनिय बन्दै गएको आरोप लगाउनुभएको छ । आज धुलिखेलमा आयोजित प्रेस चौतारी काभ्रेको सातौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै नेता बाँस्कोटाले व्यत्तिगत स्वार्थका कारण पत्रकारिताको विश्वरनीयता घट्दै गएको दावी गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले भन्नुभयो ‘मुलुकमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी मुलुक भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ ।’ नेता बाँस्कोटाले उहाँको पालामा ल्याउन लागिएको प्रेस काउन्सिल ऐन र मिडिया विधयेकमाथि अलाइएका आरोपलाई खण्डन गर्दै सहि कामको पनि नेपली मिडिया र पेशागत संघसंगठनहरूले विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रेस काउन्सिलमा मन्त्रीको गोजीको मान्छे भर्ती गर्ने परिपाटी बन्द गरेर पत्रकारहरूबाट निर्वाचित भएर आउने व्यवस्था गर्दा के अलोकतान्त्रिक काम भो र कालो पट्टी बाँध्नु पर्यो ? मिडिया हाउसले पत्रकारको बैंक खातामा पारीश्रमिक दाखिला गरेपछि मात्र सूचना विभागको पास नविकरण हुने व्यवस्था गर्दा के नराम्रो भो ? फेसबुक, युट्युब, इमो, टुइटर, इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल दर्ता गराएर करको दायरामा ल्याउन खोज्दा कहाँ प्रेस स्वतन्त्रताको हनन् भो र मुखमा पट्टी बाँध्न परेको ?’

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले पत्रकारले पार्टीको नेतृत्वमा आउने कि पत्रकारितामा रहने भन्नेबारे निर्णय गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले पत्रकारिता क्षेत्र दिनप्रतिदिन अविश्वसनीय बन्दै गएकाले यसलाई सुधार गर्दै लैजान चौतारीकर्मीहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्