स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने



१२ साउन, काठमाडौं – सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगागी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् । ‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् । संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बालबालिकाका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप्ने कार्य अघि बढाइएको छ । यस्तै, सरकारी अस्पतालमा हाइ डिपेन्डेन्सि युनिट बेड संख्या २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले थप १ हजार ४ सय शैया हाइ डिपेन्डेन्सी युनिट थप्ने क्रममा रहेको जनाएको छ । भेन्टिलेटरको संख्या ९ सय पुर्याइएकोमा १ सय ८० थप गर्ने प्रक्रियामा रहेको छ ।

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत कोभ्याक्समार्फत भदौको पहिलो साता जापानबाट एक्स्ट्राजेनेका खोप १६ लाख मात्रा र कोभ्याक्समार्फत नै भदौ अन्तिम साता ३ लाख ४८ हजार मात्रा आउनेछ । यस्तै, वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १६ लाख मात्रा साउनको अन्तिम साता प्राप्त हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खरिदअन्तर्गत भारतबाट १० लाख मात्रा कोभिसिल्ड र चीनबाट ६० लाख मात्रा भेरोसिल खोप प्राप्त हुनेछ । कोभिसिल्ड भदौ दोस्रो साता र भेरोसिल भदौ अन्तिम साता प्राप्त हुनेगरी तयारी थालिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । असोजदेखि चैतसम्म थप ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुनसक्ने गरी प्रक्रिया अघि बढाइएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्