ओलीको कदम नसच्चिएसम्म समानान्तर गतिविधि : नेपाल समूह



३० चैत, काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नसच्चिएसम्म समानान्तर गतिविधि जारी राख्ने निष्कर्ष सहित एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक प्रस्ताव मतहतका कमिटिमा पठाएको छ ।

नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको हो । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपाल समूहले निष्कर्ष निकालेको छ ।

नेपाल समूहले अदालतको फैसलाअनुसार, २ जेठ २०७५ लाई प्रस्थानबिन्दु बनाएर अगाडि बढ्नुपर्ने भन्दै २८ फागुन र त्यसयता भएका निर्णयहरु रद्द गरेर नवौं महाधिवेशनको विधान र संगठनअनुसार अगाडि बढ्नुपर्ने अडान लिएको छ ।

उक्त समूहले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई गरिएको कार्बाही अपराध लुकाउने प्रयास भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत विभिन्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई अवैधानिक रूपले कारबाही गरिएको र त्यस अपराधलाई ढाक्न अहिले पार्टीका नेताहरूलाई एकपछि अर्को कारबाही गर्ने श्रृखला बढाएको प्रती नेपाल समूहले आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्