नमोबुद्धका शैक्षिक संस्थालाई स्वास्थ्य सामग्री




२६ असोज, काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । स्थानीय व्यवसायी कुमार दाहालले नमोबुद्ध नगरपालिकामा रहेका शैक्षिक संस्थाका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

आइतबार नगरभित्र रहेका विद्यालयहरुका लागि दाहालले मास्क, सेनिटाइजर, थर्मल गन लगायतका सामग्री नगरपालिकामार्फत सहयोग गरेका हुन् । दाहालले आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई १० हजार थान मास्क, ४७ थान थर्मल गन, १३०० थान साबुन, २ सय लिटर सेनिटाइजर हस्तान्तरण गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै दाहालले आफ्नो गृहनगरमा रहेका विद्यालयहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए । उनले यसअघि कोरोना भाइरस संक्रमण सुरुवाती चरणमै रहेका बेला नगरपालिकालाई पिपिई सेट लगायतका आवश्यक स्वास्थ्यसामग्री प्रदान गरेका थिए । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना महामारीको बेलामा सुरुदेखि नै नगरपालिकालाई सहयोग गर्दै आएका दाहाललाई थप सहयोगका लागि आभर प्रकट गरेका छन् ।

दाहालकै सहयोगमा नमोबुद्ध नगरपालिका ४ मा रहेको मेथिनकोट अस्पतालमा भेन्टिलेटरको व्यवस्थापनसमेत हुने भएको छ । दाहालले अस्पताललाई दुई थान भेन्टिलेटर उपलव्ध गराएका छन् । एकथान भेन्टिलेटर पोर्टेबल रहेको र गम्भीर अवस्थाका बिरामीलाई अस्पताल ल्याउनेक्रममै प्रयोग गर्न सकिनेछ । उनले भेन्टिलेटरसहित अस्पतालका लागि आवश्यक अन्य उपकरण र स्वास्थ्यसामग्री पनि उपलव्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्