कोरोना त्रास : सतर्कता अपनाउन सरकारकाे आग्रह



२० फागुन, काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ। आमनागरिकलाई पनि सजग रहन आह्वान गर्दै उसले नेपाल भ्रमण वर्षसहित विभिन्न कार्यक्रम स्थगित गरेको छ ।

छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोनाको जोखिम विश्वभरि भयावह बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसविरुद्ध उच्च सतर्कता अपनाएको हो। उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरिएको छ।

उच्च जोखिममा रहेका चीन, जापान, कोरिया, इरानलगायत मुलुकमा अत्यावश्यकबाहेक भ्रमण नगर्न आमनागरिकलाई आग्रह गर्दै सरकारले हवाई माध्यमबाट विदेश जाने र आउने एक मात्र आन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणलाई कडा पार्न निर्देशन दिएको छ। अत्याआवश्यक बाहेक विमानस्थलसमेत नआउन र आउनै परे मास्क प्रयोग गर्न पनि आग्रह गरिएको छ। त्यस्तै ठूला भोजभतेर, सभासम्मेलन नगर्न पनि सरकारले आमनागरिकलाई अपिल गरेको छ।

विदेशबाट नेपाल आउनेलाई हेल्थकार्ड पेस गर्नुपर्ने व्यवस्था गर्दै प्रभावित मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृतिमा पनि रोक लगाइएको छ। सरकारले हाललाई इपिएस स्थगित गर्न पनि आग्रह गरेको छ भने भारत हुँदै नेपाल आउनेमा स्क्यानिङ सुरु गरेको छ। चैत तेस्रो साता आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको तीनदिने सगरमाथा संवाद पनि स्थगित गरेको छ।

सरकारले कोरोना भाइरसबाट अतिप्रभावित देशमा नजान देशवासीलाई आग्रह गर्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाबाट उच्च जोखिममा रहेका चीन, जापान, कोरिया, इरानलगायत मुलुकमा अत्यावश्यक अवस्थामा बाहेक भ्रमण नगर्न सुझाव दिए।

त्यस्तै मन्त्री ज्ञवालीले सरकारले विदेशबाट नेपाल आउनेलाई हेल्थकार्ड पेस गर्नुपर्र्ने व्यवस्था गरेको पनि जानकारी दिए। उनका अनुसार प्रभावित मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृतिमा पनि रोक लगाइएको छ।

सरकारले हाललाई इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने प्रक्रिया स्थगित गर्न आग्रह गरेको छ भने भारत हुँदै नेपाल आउनेहरूको स्क्यानिङ सुरु गरिने जनाएको छ। कोरोनाबाट अति प्रभावित मुलुकमा मार्च १० देखि ३१ सम्मका लागि आगमन भिसामा समेत रोक लगाउन लागेको मन्त्री ज्ञवालीले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्