विद्यालयको करिब १० बिघा जग्गा व्यक्तिकाे कब्जामा



४ फागुन, सुर्खेत – पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्।

‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक÷ऐलानी जग्गा २०६३ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरेका थिए,’ प्रधानाध्यापक डिलबहादुर घर्तीले भने, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जग्गामा अतिक्रमण सुरु भयो।’ अहिले विद्यालयको ६ कोठे भवनमात्रै बाँकी छ। विद्यार्थीले खेल्ने मैदानसमेत उनीहरूले कब्जा गरेर खेती गरेका छन्।

२०४६ सालमा स्थापना भएको विद्यालय सुरुमा अहिलेको स्थानभन्दा तीन किलोमिटर माथि थियो। विद्यार्थी चाप बढ्दै गएपछि अभिभावकले अहिलेको ठाउँमा सार्ने निर्णय गरे। आफूले भोगचलन गर्दै आएको सामुदायिक÷ऐलानी जग्गा विद्यालयलाई हस्तान्तरण गरे। तत्कालीन जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिको आर्थिक सहयोगमा छ कोठे भवन बन्यो। सयभन्दा बढी विद्यार्थीका लागि प्रशस्त खेल्ने मैदान थियो। ‘अहिले त भवन मात्रै बाँकी रह्यो,’ प्रधानाध्यापक घर्तीले भने, ‘विद्यार्थी खेल्ने मैदान पनि खेतीपाती गरिरहेका छन्।’

विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या बढ्दै गएर भवन अभाव छ। नयाँ भवन बनाउने जग्गा छैन। समुदायले विद्यालयलाई दिएको जग्गामै अतिक्रमणकारीहरूले टहरा बनाएका छन्। विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दलबहादुर रानाले सुरुमा बाढीपीडितका नाममा विद्यालयको जग्गा अतिक्रमण भए पनि अहिले जग्गा दिनेहरू नै अतिक्रमणमा संलग्न रहेको बताए।

‘समुदायका ६७ जनाको सामूहिक भेलाले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिक÷ऐलानी जग्गा विद्यालयलाई दिने निर्णय भएको हो, सोहीअनुसार साबिकको ठाउँबाट विद्यालय च्युरीखेतमा सारिएको हो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रानाले भने, ‘बाहिरका व्यक्तिहरूबाट विद्यालयको जग्गा अतिक्रमण हुन थालेपछि पहिले आफूले प्रयोग गर्दै आइरहेको जग्गा दिएकाहरूले पनि फेरि प्रयोग गर्न थालेका छन्।’ उनले अतिक्रमण बढ्दै गएकाले विद्यालयमा पढाउने वातावरण बिथोलिएको पनि बताए। ‘भवन मात्रै बाँकी छ, विद्यार्थीहरूलाई खेल्ने ठाउँसमेत छैन,’ उनले भने, ‘अतिक्रमित जग्गा खाली गराउन सरोकारवाला निकायहरूसँग अनुरोध गरे पनि कुनै प्रगति भएको छैन।’

जग्गा अतिक्रमणमा परेपछि विद्यालयको आय–आर्जन पनि शून्य भएको छ। ‘पहिले–पहिले खर बिक्री गरेर वार्षिक दुई–तीन लाख रुपैयाँ आम्दानी हुन्थ्यो, केरा, आँप खेती गरेका गरेका थियौं,’ प्रधानाध्यापक घर्तीले भने, ‘विद्यालयले लगाएको बाली पनि उनीहरूले कब्जा गरेका छन्।’ विद्यालयले अतिक्रमणको विषयमा वडा कार्यालय र नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि छलफलसम्म नगरेको प्रधानाध्यापक घर्तीले दुखेसो पोखे। ‘विद्यालयको सम्पत्ति संरक्षणको दायित्व नगरपालिका र वडा कार्यालयको पनि हो,’ उनले भने, ‘हामीले पटक–पटक आग्रह गरे पनि अनुरोध गरे पनि अतिक्रमण हटाउन स्थानीय सरकारले कुनै चासो देखाएको छैन।’ नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्