पार्कीङको लागि जग्गा किन्न पलाञ्चोकमा महायज्ञ



३ फागुन, काभ्रेपलाञ्चोक – ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत्र १८ गतेबाट लगाइने महायज्ञको बारेमा शुक्रवार पलाञ्चोकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

मन्दिरको उत्तरपूर्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि ३ करोड ५० लाख रुपैया लाग्ने भएकोले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको पलाञ्चोक भगवती संरक्षण समितिका संरक्षक एवं पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । ७ रोपनी जग्गा खरिद गर्न नगरपालिकाको कोषले मात्र नपुग्ने भएकोले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको उहाँको भनाई छ ।

महायज्ञबाट कम्तिमा पनि ५ देखि ६ करोड रुपैया उठाउने लक्ष्य लिइएको छ । जग्गा खरिदबाट बचेको रकमले पार्कीङको व्यवस्थापनमा खर्च गरिने लक्ष्य आयोजकले लिएको छ । जग्गा खरिदको लागि पाँचखाल नगरले ३० लाख रकम विनियोजन गरेको छ । भगवति मन्दिरको मुल समितिको नाममा ३० लाख, बृहत्तर विकास ७ लाख, ३ लाख रथ मर्मतको लागि गरि ४० लाख रकम खातामा रहेको पाँचखाल नगरपालिका वडा नं ९ का अध्यक्ष एवं सप्ताह मुल आयोजक समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा पाँचखाल नगरका प्रमुख एवं मंदिरको संरक्षक महेश खरेलले पलाञ्चोक भगवती नेपालकैै सवै भन्दा महत्वपुर्ण शक्ति पिठ रहेको बताउनु भयो । उहाँले भन्नुभयो त्यस्तो महत्वपुर्ण शक्ति पिठको उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउमा रहेकोले खरिद गर्नुपर्ने भएको बताउनु भयो । व्यक्तिकै भएपनि हाल सम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाकको लागि सवारी पार्किङ्ग गर्दै आएको जग्गा खरिदको लागि मात्रै झण्डै २ करोड ५० लाख आवश्यक हुने भएकोले सप्ताहको आयोजना गर्न लागेको बताउनु भयो ।

पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख एवं मन्दिरको संरक्षक खरेलले जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख सम्ममा खरिद विक्री भएको अवस्थामा जग्गाधनिहरुसंग अनुरोध गर्दा प्रति आना ३ लाखमा दिने सहमति भएको बताउनुभयो । नगरप्रमुख खरेलले पत्रकार सम्मेलनकै क्रममा१ लाख ८ हजार रकम दान गर्ने घोषणा गर्नुभयो । व्यक्तिकै भएपनि हाल सम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाकको लागि सवारी पार्किङ गर्दै आईएको छ । वडा अध्यक्ष एवं महायज्ञ संयोजक किरण श्रेष्ठले विगत लामो समयदेखि जग्गा खरिदको लागि पहल गर्दा संम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाहरुले चलन चल्तिको मुल्य भन्दा अत्यन्त कम मुल्यमा जग्गा दिने सहमति भएपछि खरिदको लागि चन्दाको रुपमा महायज्ञ लगाउन लागेको बताउनुभयो ।

उहाँले जग्गा किन्न र व्यवस्थापनको लागि बैना बापत १० लाख रकम जग्गावालालाई दिएको वताउनुभयो । कार्यक्रममा सामाजिक अभियन्ता रामशरण रेग्मीले मन्दिरको लागि आवश्यक जग्गाको लागि जग्गावालाहरुले ठुलो त्याग गरेको वताउंदै यस्तो महत्वपुर्ण कार्यमा चन्दा दिने अवसर रहेको बताउनु भयो । राजाराम पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोरे बहादुर थापा, नेपाली काँगे्रस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगाएतले महायज्ञबारे मन्तब्य राख्नुभएको थियो ।

पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती रहेको पलाञ्चोक भगवती मन्दिरको ०७२ को भुकम्प पछि पुनःनिर्माण गरिएको थियो । पत्रकार सम्मेलनमा बाग्मती प्रदेश भरि रहेका पालिकाहरु मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट घोषित भएर नगरपालिकालाई सम्मान गरेको भन्दै नगर प्रमुख महेश खरेललाई नागरिक अभिनन्दन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्