नारायणहिटी यतीलाई भाडामा दिन चलखेल



७ पुस, काठमाडाैं- यतीको भगिनी कम्पनी थामसेर्कुलाई नारायणहिटी दरबार संग्रहालयको केही भाग रेस्टुरेन्ट चलाउन भाडामा दिने चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतको भनाइ छ।

नारायणहिटी दरबार संग्रहालय विस्तारको गुरुयोजनामा संग्रहालयभित्र रेस्टुरेन्ट र अन्य प्रयोजनका लागि भाडामा लिन आङछिरिङले जीवित छँदा लबिङ गर्दै आएको स्रोत बताउँछ।

‘थामसेर्कुले संग्रहालयभित्रको लमजुङ कक्ष र आसपासको केही भागमा रेस्टुरेन्ट चलाउनेगरी सरकारसँग मागेको छ,’ स्रोतले भन्यो, ‘थामसेर्कुकै जोडबलमा संग्रहालयलाई विकास समितिमा लगिएको छ, संग्रहालय विस्तारको गुरुयोजना तयार भइरहेको र त्यही विकास समितिमार्फत कार्यान्वयन गर्न खोजिएको छ।’

लमजुङ कक्षमा तत्कालीन राजपरिवारले विदेशी पाहुनालाई रात्रि भोज दिने प्रचलन थियो। थामसेर्कुले संग्रहालय अवलोकन गर्न आउनेबाट ठूलो आम्दानी हुने देखेपछि योजनाबद्ध ढंगले भाडामा लिन खोजेको स्रोतको दाबी छ। नारायणहिटी दरबार संग्रहालय विकास समितिको कार्यकारी निर्देशकमा भेषनारायण दाहाललाई नियुक्त गरिसकिएको छ।

यती ग्रुपले पर्यटन मन्त्रालयअन्तर्गतकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जग्गा पनि हत्याउन चलखेल गरिरहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरीको भ्याली गणलाई विस्थापित गरेर उक्त ठाउँमा होटल सञ्चालन गर्न यती समूहले पहिलादेखि नै प्रयास गर्दै आएको थियो। ९८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गामा अहिले पनि यतीले सशस्त्र प्रहरी गणलाई त्यहाँबाट हटाएर, लिजमा लिई होटल सञ्चालन गर्ने पर्यटन मन्त्रालयमार्फत चलखेल गरिरहेको प्राधिकरण स्रोतको भनाइ छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्