केन्द्रीय कमिटी बैठक १९ महिनापछि
७ पुस, काठमाडाैं- नेकपाले १९ महिनापछि केन्द्रीय कमिटी बैठक बोलाएको छ। स्थायी कमिटी बैठकले संयुक्त राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्दै केन्द्रीय कमिटी बैठक बोलाएको हो।
नेकपाका दुई अध्यक्षमध्ये प्रधानमन्त्रीसमेत रहेका ओलीको अनुपस्थितिमै स्थायी कमिटी बैठक बसेको थियो। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएयता केन्द्रीय बैठक बस्न सकेको थिएन। २०७५ जेठ ३ मा दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकतापछि नेकपा बनेको हो।
विधानतः ६–६ महिनामा केन्द्रीय बैठक बस्ने व्यवस्था छ। नेकपाले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जेठ १ मा नेताहरूको नागरिकता र हस्ताक्षर संकलन गर्न मात्र केन्द्रीय बैठक बोलाएको थियो। त्यसयता बैठक नबोलाइएकोमा नेताहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
स्थायी कमिटी बैठकले पुस २३ गतेदेखि केन्द्रीय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
त्यसअघि पार्टीको संगठनात्मक एकताका सबै काम टुंगो लगाउने निर्णय पनि नेकपाले गरेको छ। केन्द्रीय आयोग, विभाग र जनवर्गीय संगठनका केन्द्रीय समितिहरूलाई पूर्णता दिन बाँकी छ। यी निकायले प्रमुख, उपप्रमुख पाए पनि पूर्णता पाउन सकेका छैनन्। ‘१५ दिनभित्र विभाग, आयोग र जनसंगठनको केन्द्रीय निकायको एकता सक्ने निर्णय पनि बैठकले लिएको छ’, प्रवक्ता श्रेष्ठले भने। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
