परालकाे छाप्राे परालकै डसना



३ पुस, लहान – परालले छाएको सानो छाप्रो। परालले नै छाप्रो बारबेर गरिएको छ। चिसो भुइँमा परालकै डसना छ। त्यसमाथि पातलो सुकुल छ।

छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ। यही छाप्रोमा सिरहा गोलबजार नगरपालिका–९ मुसहरी टोलका श्यामदेवी सदायको सातजनाको परिवारले शीतलहरको कष्ट सहिरहेको छ। छाप्रोमा चार छोराछोरी, वृद्ध सासू र श्यामदेवी दम्पती बस्छन्। जाडो छल्न उनले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेकी छन्। ।

सोही टोलकी ७० वर्षीया मलभोगिया सदायले चिसो बढेपछि शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको बताइन्। चिसो बढेपछि अतिविपन्न बस्तीमा परालकै सिरक–डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आइलागेको छ।

गोलबजार–९ धोबियाधार (खोला) किनारमा सुकुमबासीका रुपमा बस्दै आएका मुसहरले वर्षामा घर डुबान र शीतलहरमा चिसोको कहर खेप्नुपरेको छ। ‘चिसो भुइँमा पराल ओछ्याएर डसना बनाएका छौं। ओढ्ने पुरानो तर नतात्ने कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन, कहाँबाट न्यानो लुगा लगाउनु, ओढ्नु।’

सोही मुसहर बस्तीकी जंगली सदायको पीडा पनि उस्तै छ। ‘मजदुरी गरेर कमाएको दुईचार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?’ उनले भनिन्, ‘सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन।’

उनका अनुसार अहिलेसम्म मुसहर बस्तीमा चिसोपीडितका लागि सरकारी, गैरसरकारी कुनै तहबाट पनि राहत पुगेको छैन। गत वर्षको शीतलहरमा स्थानीय सरकारले दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न मुसहर बस्तीसम्म पुग्न सकेन।

‘न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो बस्तीमा आए,’ जंगलीको गुनासो छ। साँच्चिकै पीडितलाई भन्दा पनि मन परेका व्यक्तिलाई कम्बल बाँड्ने गरिएको उनको आरोप छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्