नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने सहमती



२ पुस, काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सहकार्य गर्ने सहमती भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका अध्यक्षहरूबीच सहकार्य गर्ने सहमती भएको हो ।

छलफलमा नेकपाका तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपाका सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका महासचिव बिष्णु पौडेल, नेकपाका स्थायी कमिटि सदस्य सुवास न्यम्वाङको सहभागिता रहेको थियो । यसैगरी राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादवको सहभागिता रहेको थियो ।

छलफलपछि दुई पार्टीबिच दुई बुँदे सहमती भएको छ । सहमतीको पहिलो बुँदामा भनिएको छ– ‘आगामी माघ ९ गते सम्पन्न हुने प्रदेश नं. २ को राष्ट्रियसभाको निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहयोग गर्ने । त्यसैगरी दलित र पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी (राजपा) ले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने ।’
यसैगरी दुई पार्टीबिच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा दुई पार्टीबिच निरन्तर छलफल गर्ने समेत सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्