खाना पकाउने विषयमा घरायसी बिवाद : तरकारीमा विष हाल्दा एक जनाको मृत्यु पाँचजना विरामी



१ पुस, वीरगञ्ज– खाना पकाउने विषयमा सामान्य विवाद हुँदा विरगञ्जमा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भिर विरामी भएका छन् । वीरगञ्ज–२४ बहुअरीकामा खाना बनाउने विषयमा राधिकादेवी र छोरी मनिषा पटेलबिच विवाद हुँदा राधिकाले तरकारीमा विष हालेर पकाएकी थिइन् । उक्त विष हालेका तरकारी खाँदा राधिकादेवीको मृत्यु भएको हो ।

उक्त तरकारी खाँदा राधिकाका ३ वर्षीय छोरा करिमन भन्ने विवेक कुमार, उनका सौताका छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल र १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु) मा उपचाररत उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ ।

राधिका जगदिशको दोस्रो श्रीमती हुन् । १५ बर्ष पहिले जेठी श्रीमतीको मृत्यु भएपछि जगदिशले राधिकासँग विवाह गरेका थिए । स्रोतका अनुसार सोमबार बिहान खाना पकाउने विषयमा राधिका र छोरी मनिषाबीच झगडाको भएको थियो ।

त्यही रिस फेर्न सोमबार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् । विषादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन् । परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदिश सोमबार राति घर नआई उद्योगमै बसेका थिए ।

खाना खाएलगत्तै गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि सोमाबार राति वीगञ्जको तराई हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको तराई हस्पिटलले जनाएको छ ।

अन्यलाई तराई हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

‘सोमबार बिहान खाना कसले पकाउने विषयमा राधिका र मनिषाबीच विवाद भएको र आवेशमा आएर राधिकाले राति खाना पकाउँदा तरकारीमा विषादी हालेर आफूसहित परिवारका सदस्यलाई खुवाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्