सिन्धुपाल्चोकमा तीन महिनामा तिन ठूला दुर्घटना, ४६ जनाले गुमाए ज्यान



दुर्घटना ओभरलोड, ब्रेक फेल र तीब्र गतिले, कमशल बडीका कारण धेरैको मृत्यु

३० मंसिर, काठमाडौं– सिन्धुपाल्चोक जिल्लामा असोज, कात्तिक र मंसिर महिनामा भएका तीन ठूला दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका छन् । आइतबा भक्तपुरदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर बा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो ।

यसैगरी दोलखाको मागादेउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस कात्तिक १७ गते सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनामा पुरुष एक, महिला सात, बालक ६ तथा तीन बालिकाको मृत्यु भएको थियो। थप दुई शव घटना भएको भोलीपल्ट फेला परेसँग मृतकको संख्या १९ पुगेको थियो ।

यस्तै गत असोज २४ गते इन्द्रावती गाउँपालिकामा काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।

तीनवटै दुर्घटना सवारी साधनको कमजोरी र ओभरलोडका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा घाइते भएकाहरूको भनाई पनि कुनैमा ओभरलोड र कुनैमा ब्रेक फेल भएर र तीब्र गतिका कारण दुर्घटना भएको बताउँछन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ओभरलोड र भिरालो बाटोमा ब्रेक नलाग्दा बस दुर्घटना भएको थियो । यस्तै सुकुटेमा पनि करिब १ सय बिस जना भन्दा बढी यात्रु बोकेको बस तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । यसैगरी हिजो भएको दुर्घटना पनि तीब्र गती र ब्रेक फेल भएकै कारण भएको घाइते यात्रुको भनाइ छ । ती वटै दुर्घटनामा बस भने पूर्णरुपमा क्षतविक्षत भएका छन् । यसले पनि पुराना र कमजोर बडी भएका बसहरू भएकाले दुर्घटना भएको देखिन्छ । ति दुर्घटनामा बसको बडी कमजोर भएका कारण पनि यात्रुहरू धेरैको मृत्यु भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्