राष्ट्रिय युवा संघको केन्द्रीय समिति ३३५ सदस्यीय



२६ भदौ, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठनको केन्द्रीय समिति एकताको खाका तयार भएको छ । संघले बिहीबार विज्ञप्ती जारी गर्दै केन्द्रीय समिति ३३५ सदस्यीय हुने जनाएको छ ।

संघका संयोजक रामप्रसाद सापकोटा र सह–संयोजक रमेश पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ, नेपालले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको जनाएका छन् ।

तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमित माग्ने निर्णय भएको संघका सहसंयोजक रमेश पौडेलले जानकारी दिए ।

३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका ११५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको बैठकले यस विषयमा सहमति जुटाएको हो ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमतिसमेत भएको छ । युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । २७ गते नै कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्