अरनिको राजमार्ग अतिक्रमण : सडक विभागको बजेटमा १५ मिटरमै फुटपाथ



अतिक्रमित सडकमा नक्सा पास नगरी निर्माण गरियो भौतिक संरचना

२४ भदौ, पाँचखाल (काभ्रे)– डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्गको दायाँ बायाँ २५/२५ मिटर खाली गर्न पटक पटक सूचना प्रकाशित गरिरहँदा पाँचखाल नगरपालिकाले भने अटेर गरेर राजमार्गमा टहरा निर्माण गर्न छुट दिएको छ ।

धुलिखेल देखि दोलालघाट खण्डमा दायाँ बायाँ खाली गर्ने सूचना र राजमार्गको मापदण्ड समेत ख्याल नगरी पाँचखाल नगरपालिकाको बोहोरेदोभान जाने चोक देखि तामाघाट चोक सम्मको करिव ३ सय मिटर क्षेत्रको जग्गामा नियम विपरित नगरपालिकाबाट नक्सा समेत पास नगरी टहरा निर्माण गरी व्यापार गर्ने र भाडामा लगाउने गरिएको छ । उक्त सडक खण्डको धुलिखेल बाट दोलालघाटतर्फ जाँदा झिकु खोला पुल पारी गरेपछि केही अघि बढेर बजार क्षेत्रमा प्रवेश गरेसँगै सडकको मापदण्ड विपरित पाँचखाल नगरपालिकाको अनुवाईमा १५ मिटर मात्रै छाडेर फुटपाथ समेत निर्माण गरी डिभिजन सडक कार्यालयको बजेट समेत दुरुपयोग गरिएको प्रष्ट देख्न सकिन्छ ।

सो विषयमा जानकारी लिँदा डिभिजन सडक कार्यालयबाट उक्त क्षेत्रमा काम गर्ने इञ्जिनियर आनन्द श्रेष्ठले पाँचखाल नगरपालिकाले नै १५ मिटरमा फुटपाथ बनाएको बताए । सडक विभागले भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेल सम्मको राजमार्ग क्षेत्रको दायाँ बायाँ भएका संरचना हटाइरहेका बेला पाँचखालमा भने १५ मिटर छाडेर घरटहरा निर्माण भए । तर उक्त अतिक्रमित क्षेत्रको विपरित तर्फ मसला बाली विकास केन्द्रको जग्गा रहेको ठाउँमा सडकको केन्द्र भागबाट २५ मिटर नै छाडिएको छ ।

सडकको तामाघाट चोकदेखि लामिडाँडातर्फ भने २५ मिटर नै खाली गराइएको छ । उक्त १५ मिटर मात्र हटाएको ठाउँमा धेरै जसो घर राजनीतिक दलका नेताहरूको रहेकाले पनि नहटाइएको स्थानीयको आरोप छ । केही नेताहरूले पहिले नै २५ मिटर छाडेर संरचना निर्माण गरेका छन् भने धेरैले सडक नै ओगटर बसेको स्थानीयले बताएका हुन् । नगरपालिका कार्यालय परिसर नजिकै सडक अतिक्रमण गरी नक्सा समेत पास नगरी टहरा निर्माण गरिरहँदा पनि पाँचखाल नगरपालिका भने मौन बसेको छ । गतल कार्यहरूलाई नियन्त्रण गरी मापदण्डमा ल्याउनुपर्ने नगरपालिका कार्यालयलेनै गलत कार्य गर्न अभिप्रेरित गरेको स्थानीयले आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्