दश जना युवकद्वारा एक युवती बलात्कृत



नौ जनालाई लियो प्रहरीले नियन्त्रणमा

२४ भदौ, नवलपुर– नवलपरासी पश्चिममा एक युवतीलाई १० जनाले सामुहिक बलात्कार गरेका छन् । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे बलात्कार भएको हो ।

मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेका वेला सो समूहले नियन्त्रणमा लिएर कुटपिट गरेको र किशोरीलाई नजिकै उखुबारीमा लगेर १० जनाको समूहले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए । घटनास्थल भारतको सीमानजिकै पर्छ  ।
घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेको थियो । प्रहरी तत्काल अभियुक्तहरूको खोजीमा लागेकाले घटनामा संलग्न नौजनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना फरार छन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका छन् । पक्राउपरेका सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्