सेटिङ मिलाउन प्रहरी चौकीका इञ्चार्जहरूको सरुवा



२४ भदौ, काभ्रे– जिल्ला प्रहरी कार्यलय काभ्रेले काभ्रेका विभिन्न चौकीमा रहेका इन्चार्ज परिर्वतन गरेको छ । जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले काभ्रे जिल्ला आएको केही महिनामै ‘सेटिङ’मा आफुलाई सहयोग नगर्ने चौकी इन्चार्जलाई बदली गरेका हुन् ।

एसपी सापकोटाले अरनिको राजमार्गअन्तर्गत पाँचखाल प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) शिव पराजुलीलाई डाँडापारीस्थित बनखु प्रहरी चौकी सुरुवा गरिदिएका छन् । तर, उनले आफुलाई सहयोग गर्ने दोलालघाट प्रहरी चौकी इन्चार्जलाई यथावत् गरेका छन् । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं अन्य अधिकारीलाई खुसी पार्न नसक्दा एक प्रकारको ‘कार्वाही’ स्वरुप दूर्गम पठाइएको तपाईं हाम्रो साप्ताहिकमा समाचार छ ।

सेटिङ मिलाउन खप्पीस दोलालघाट प्रहरी चौकी इन्चार्ज ताराबहादुर श्रेष्ठले यसअघि भुम्लु गाउँपालिकाको नदीजन्य पदार्थ ठेक्कामा राम्रो प्रभाव राखेको जानकारी पाएपछि उनलाई यथावत् गरिएको प्रहरी स्रोतले बतायो । ‘आफु नजिककालाई आम्दानी र सुविधा हुने ठाउँमै राखे, अरुलाई परिवर्तन गरे’ स्रोतले भन्यो । केही हप्ताअघि मात्रै भुम्लु गाउँपालिकाले सुनकोशी नदीमा गरेको नदीजन्य पदार्थ (ढुङ्गा, वालुवा)को टेन्डर आव्हान ठेक्का प्रक्रियामै छ । स्मरण रहोस् पराजुली र श्रेष्ठ एकै पटक चौकी इन्चार्ज बनाइएको थियो ।

एसपी सापकोटाले पनौती प्रहरी चौकी इन्चार्ज सई शिव कार्कीलाई जिल्ला तानेका छन् । उनी पनौतीमा लामो समय कार्यरत चौकी इन्चार्ज थिए । जिल्ला आएका एसपीलाई तत्काल प्रभावमा राख्न ‘माहीर’ कार्कीलाई जिल्ला तान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कार्कीलाई जिल्ला तानेपछि जिल्लास्थित अन्य प्रहरी कार्कीको पेलान खेप्नुपर्ने चिन्ता ब्यक्त गरिरहेका छन् ।

यस्तै, एसपी सापकोटाले अरनिको राजमार्ग अन्तर्गत साँगा र खावा प्रहरी चौकी, विपी राजमार्गको काभ्रे भञ्ज्याङ, भकुण्डेबेंसी तथा श्यामपाटी प्रहरी चौकीका इन्चार्ज परिवर्तन गरेका हुन् । चौकी इन्चार्ज परिवर्तनबारे एसपी सापकोटाले प्रहरीको सेटिङ बिगार्नलाई इन्चार्ज परिवर्तन गरेको प्रतिक्रिया दिए । उनले भने ‘इन्चार्जलाई लामो समय एकै स्थानमा राख्दा सेटिङ मिलाउन सक्छन् भनेर सेटिङ बिगार्नै इन्चार्ज परिवर्तन गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्