काँग्रेसका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष बहुविवाह मुद्दामा पक्राउ



काठमाडौँ– नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै प्यूठानको गौमुखी गाउँपालिकामा निर्वाचित भएका गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।

गिरीकी श्रीमती सीता केसीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले गिरीसँग सोधपुछ र थप अनुसन्धान भइरहेको बताएको छ । श्रीमतीले साउन १० गते उजुरी गरे पनि गिरीलाई आइतबार पक्राउ गरिएको डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ०५७ सालमा प्रेम विवाह गरेका गिरीले दोस्रो विवाह गरेको श्रीमतीको आरोप छ । गिरी नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका हुन् ।

सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्। उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ । गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।

प्रतिक्रिया दिनुहोस्