आजदेखि सुरु भयो बिजुली बस



स्मार्ट यात्रा कार्ड लिए भाडामा २० प्रतिशत छुट

२३ भदौ, काठमाडौं– आजबाट काठमाडौंमा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ ।
केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर पुलचोक देखि सिंहदरबार सम्म यात्रा गरेको भएपछि चार्जिङ स्टेशन नभएका कारण बस सञ्चालनमा आएको थिएन । विद्युत चार्जिङ स्टेशन निर्माण भएपछि आजबाट बस सेवा सञ्चालनमा आएको हो ।


पछिल्लो समयमा डिजेल सवारीका कारण उपत्यका लगायतका शहरमा वायू प्रदुषण र ध्वनी प्रदुषण बढिरहेका बेला बिजुली बसले वातावरण संरक्षणमा सहयोग पुग्ने सरोकारवालाहरूले बताएका थिए । विजुली बस सञ्चालनमा आएसँगै सकसपूर्ण यात्रा गर्दै आएका यात्रुहरूलाई सहजता हुने देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार आज उद्घाटन गरेको जिुली बस सेवामा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्दा २० प्रतिशत छुट पाइनेछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो । सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो वर्ष २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ । अगाडिबाट यी बसहरु अहिले शहरमा चलिरहेका बसभन्दा भिन्न देखिन्छन् । यी बस नेपाली सडक मैत्री छन् । सुन्दरले भित्राइसकेका र भित्राउन लागिएका थप बस ४० सिट क्षमतासम्मका छन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा लगाएर चार्ज गर्ने विकल्प पनि छ । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उदघाटन गरिसकेको छ । यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।

यो बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण पनि छन् । जुन अहिलेसम्म नेपालको सार्वजनिक यातायातमा प्रयोग भएको पाइँदैन । एयर कन्डिसनर सेवा सहितका यी विद्युतीय बस वातावरणमैत्री छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी पनि निकाल्दैनन् ।

विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुन्छ । हाल काठमाडौंमा चलिरहेका डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्चन्छन् । तर, विद्युतीय बसको सञ्चालन खर्च त्योभन्दा निकै कम छ । प्रत्येक ५ किलोमिटरमा सञ्चालन खर्च २० रुपैयाँ मात्रै पर्ने कम्पनीको भनाइ छ ।

खरिद मूल्य भने डिजेल गाडीको भन्दा करिब ४ गुणा महंगो हुन्छ । तर, पनि कम्पनीले सरकारले अनुमति दिए अरुको भन्दा कम भाडामा नै यात्रुलाई सेवा दिने बताएको छ । यात्रा कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ । कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्