काभ्रेको निर्वाचन क्षेत्र नं. १ को विकासका लागि गुरुयोजनाबारे छलफल



योजना गाउँमा छन् सहरमा छलफल गरेर हुँदैन : वडा अध्यक्ष

२२ भदौ, काभ्रे– काभ्रे जिल्लाको धेरैजसो दुर्गम भेग समेटिएको निर्वाचन क्षेत्र नं. १ को विकासका लागि गुरुयोजना तयार पार्न भेला आयोजना भएको छ ।

समानुपातिक तर्फकी संघीय सांसद नविना लामाको अगुवाइमा भएको भेलामा प्रमुख अतिथि गंगाबहदुर दोङ, अतिथिहरूमा प्रदेशसभा सदस्य गोमा भूर्तेल, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम, महाभारत गाउँपालिकाका कान्छामान जिम्बा, रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला, तेमाल गाउँपालिकाकि उपाध्यक्ष दुर्गामाया तामाङ, नेकपाका नेता मुकुन्द गौतम, लेखराज गौतम, तेमाल, खानीखोला, चौरीदेउरालीका वडाध्यक्षहरु लगायको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि दोङले भने विकट क्षेत्रमा पर्ने सो निर्वाचन क्षेत्रमा विकासको लागि बहस निक्कै राम्रो भएको बताए । कार्यक्रममा नेकपाका नेता मुकुन्द गौतमले योजनाको प्राथमिकिकरण गर्न र उत्पादन तथा रोजगारीमुलक योजनामा स्थानीय तहहरू पछि परेको बताए ।

कार्यक्रममा खानीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष मानहादुर गोलेले सहरमा त्यो पनि निर्वाचन क्षेत्र नं. १ को कार्यक्रम निर्वाचन क्षेत्र नं. २ मा आयोजना गरेर गुरुयोजना नबन्ने बताए । गोलेले भने– ‘यहाँ बसेर गुरुयोजना बन्दैन । गाउँमा गएर समस्या के छ त्यो पहिलान गरेर, जनताको आवश्यकता के हो त्यो पहिचान गरेर र योजनामा दक्षता हासिल गरेका विज्ञहरूबाट मात्र गुरुयोजना बन्छ । सांसदज्यूहरूले फोन चाहिँ उठाउनुहोस् । गाउँमा आउनुहोस् गुरुयोजना त ३ वर्षे र ५ वर्ष खानीखोला गाउँपालिकाले पनि बनाएको छ । बजेट ल्याउने काम गर्नुहोस् ।’

युवा संघका नेता राकेश लामाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न वडा अध्यक्षहरूले गाउँका समस्याहरू सुनाउँदै सांसदहरूले बजेट ल्याउन नसकेको र चासो नदिएको गुनासो पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्