मर्स्याङ्दी नदीमा जिप खस्यो



हामफालेर बाँचे चालकसहित ५ यात्रु

२२ भदौ, मनाङ– मनाङमा निर्माण सामग्री बोकेर ताल बाट खाङसारका लागि छुटेको वोलेरो जिप दुर्घटना भएको छ । जिप शनिबार दिउँसो मनाङको ङिस्याङ गाउँपालिका १ भ्राताङ स्थित मर्स्याङ्दी नदीमा खसेको हो । जिप चालकसहित ५ जना यात्रु भने हामफाली बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

प्रहरीका अनुसार ग १ ज ७२४५ नम्बरको उक्त वोलरो जिप १४ बोरा सिमेन्ट र ६० वटा फलामे पाइप बोकेर खाङसार जाँदै गर्दा दुर्घटनामा परेको हो । जिप चालक लमजुङ दोर्दी गाउँपालिका ८ बस्ने २३ वर्षिय आनन्द गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी टीकाबहादुर कार्कीले जनाए । ‘सडकबाट जिप खसे पनि यात्रु बाँच्न सफल भएको छ । जिपसँगै खसेको भए कोही बाँच्दैनथे । कसो उनीहरु जिप खस्न लागेपछि हामफालेर जोगिएछन्’ उनले भने, ‘तैपनि हामी अनुसन्धानमा छौं, अनुसन्धानपछि मात्रै घटनाबारे एकीन हुन्छ ।’

जिप पानीको बहावमा रहेको र तत्काल झिक्न नसकिएको अवस्थामा रहेको उनले बताए । साँघुरो र अप्ठ्यारो सडक केही उकालोमा व्याक गर्ने क्रममा सवारी दुर्घटना भएको खुलेको डीएसपी कार्कीले बताए । घटनास्थल चामेबाट करिब ७ किलोमिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्