दाइजोमा मोटरसाइकल नल्याएको भन्दै श्रीमतीको हत्या



२१ भदौ , रौतहट- दाईजाेमा मोटरसाइकल भन्दै राैतहटमा एक युवतीकाे हत्या भएकाे छ । रौतहटकाे राजपुर नगरपालिका- ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको हत्या भएको हो ।

हत्या कसले गरेको भनेर नखुलेतापनि माइती पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले सन्जुका श्रीमान् रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिसकेको छ ।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दै आएका थिए ।

केही दिनअघि अविलास छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा बताएकी थिइन् ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ ।

बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार घटना शंकास्पद रहेकाले श्रीमान् र ससुरालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्