कांग्रेसको अनुशासन सहितिमा एक हजार उजुरी



२१ भदौ, काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका करिब १ हजार ३ सय उजुरीमध्ये हालसम्म करिब २ सय उजुरी मात्रै कारबाहीको प्रक्रियामा गएको छ । राजधानी दैनिकले खबर छापेको छ ।

कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता मात्रै बढी कारबाहीमा परेका छन् । कार्य्विधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । देशभरबाट प्राप्त उजुरीका आधारमा समितिले २९८ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । समितिलाई प्राप्त करिब १ हजार ३ सय उजुरी मध्ये १ हजार उजुरीमा हालसम्म पनि कांग्रेसले कारबाहीको कुनै प्रक्रिया थालेको छैन ।

अनुसासन समितिको कार्य्विधि नै उजुरी पठाउँदा तहगत रुपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताका विरुद्ध सिधै आएका उजुरीका विषयमा समेत समितिले कुनै चासो देखाएको छैन ।

समितिका एक सदस्यले शीर्ष तहका नेता विरुद्धका उजुरी समितिको कार्य्विधि अनुसार नभएकाले नहेरिएको बताए । ‘शीर्ष तहका नेताविरुद्धका उजुरी समितिको कार्य्विधिअनुसार आएको छैन, कार्य्विधिअनुसार प्रमाणसहित आएका उजुरीलाई मात्र समितिले हेर्छ,’ समितिका ती सदस्यले भने ।

समितिले हालसम्म गरेका कारबाही हेर्दा तल्लो तहका नेताविरुद्धका उजुरीउपर छानबिन भई कारबाही भइरहेको छ । अनुसासन समितिका सचिवसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले उजुरी पठाउँदा तहगत रूपमा नै प्रमाण र आधारसहित पठाइएका उजुरीउपर मात्रै कारबाही हुने बताए ।

उनले तहगत रूपमा सिफारिस भएर आएका उजुरीलाई मात्रै समितिले गतिलो आधार मान्ने तर कसैले व्यक्तिगत रूपमा नेताका विरुद्ध दिएका उजुरीलाई समितिले नहेर्ने बताए । केसीले समितिलाई प्राप्त बाँकी उजुरी छानबिनकै क्रममा रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्