कुनैपनि हालतमा भक्तपुरको उपनिर्वाचन जित्न कार्यकर्तालाई देउवाको निर्देशन



२० भदौ, भक्तपुर- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको उपनिर्वाचन जित्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीलाई जुनसुकै हालतमा पनि जिताउन कार्यकर्तालाई निर्देशन दिडएका छन्।

पार्टीभित्रैबाट उम्मेदवारलाई हराउने विगतका कुरा सम्झाउँदै देउवाले अब पनि त्यस्तो प्रवृत्ति दोहोरिएमा छानविन गरी कडा कारबाही गर्ने चेतावनी दिए। भक्तपुर प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र ९क० मा उपनिर्वाचन हुँदैछ।

पार्टीको प्रशिक्षण प्रतिष्ठानले शुक्रबार प्रदेश नम्बर ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि सुरू गरेको प्रशिक्षणको उद्घाटन गर्दै देउवाले भने, ‘भक्तपुर ऐतिहासिक ठाउँ हो। यही ठाउँबाट ऐतिहासिक जित सुरू हुनुपर्छ।’

उनले पार्टीका आधिकारिक उम्मेदवारलाई जसले हराउने भूमिका खेल्छ त्यसलाई कारबाही गरिछाड्ने पनि बताए। ‘अन्तरघात गर्नेलाई कारबाही गर्दा को रोक्न आउने रहेछ म पनि हेर्छु,’ देउवाले भने, ‘अन्तरघातलाई निमिट्यान्न पारेर जसरी पनि चुनाव जित्नुपर्छ। अन्तरघात गर्नेलाई सघाउनेको अनुहार बाहिर ल्याउँछु।’

प्रतिक्रिया दिनुहोस्