प्रेमप्रस्ताव अस्विकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार



२० भदौ, वीरगञ्ज– प्रेमप्रस्ताव अस्विकार गरेको भन्दै विरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ । वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको हो ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा छपकैया–३ निवासी रसुल अलीकी छोरी मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने–आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । वीरगञ्ज–१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

मियाँका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्