कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रम भक्तपुरमा सुरु हुँदै



उद्घाटन सभापति देउवाले गर्ने

२० भदौ, भक्तपुर– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि प्रदेश–३ का महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रम भक्तपुरमा सुरु हुँदैछ ।


प्रदेश ३ का १३ जिल्लामध्ये सात जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधि सहभागी हुने प्रशिक्षण कार्यक्रमको आज बिहान बोडेमा पार्टी सभापति शेरबहादुर देउवाले एक समारोहबीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पार्टीका अन्य शीर्ष नेताको समेत सहभागिता रहने प्रशिक्षण कार्यक्रमको संयोजन तथा व्यवस्थापक गरेका कांग्रेस भक्तपुर जिल्ला सभाति दुर्लभ थापाले बताउनुभयो ।
बिहान १०बजे सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको सभापति थापाले बताउनुभयो ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ मा दुई स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै छ ।
प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अनुसार बाँकी प्रदेश ३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि पछि मकवानपुरमा प्रशिक्षण दिइनेछ ।
प्रदेश नं. ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने सचिव आचार्यले बताउनुभएको छ।
कांग्रेसले प्रदेश १ को धनकुटा र मोरङ, प्रदेश २ को जनकपुरधाम र वीरगन्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्