ख वर्गका ११ बैंक मध्ये महालक्ष्मी विकास बैंकको खराब कर्जा बढी



२० भदौ, काठमाडौं– महालक्ष्मी विकास बैंकको खराब कर्जा बढी रहेको तथ्याङ्क सावजनिक भएको छ ।

नेपालमा सञ्चालित ‘ख’ वर्गका राष्ट्रिय स्तरका ११ वटा विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकको खराब कर्जा सवैभन्दा बढी रहेको पाइएको छ । उच्च खराब कर्जाका कारण यो बैंकप्रतिको विश्वाससमेत घट्दै जान थालेको छ । राजधानी दैनिकले खबर छापेको छ ।

११ वटा विकास बैंकमध्ये महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी कर्जा अर्थात् २.५४ प्रतिशत रहेको छ । सो बैंक गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी खराब कर्जा रहेको बैंकको पहिलो सूचीमा परेको थियो । गत वर्ष यो बैंकको खराब कर्जा ३.८८ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७२र७३ मा सो बैंकको ४.१७ प्रतिशत खराब कर्जा थियो । लुम्बिनी विकास बैंकले गत वर्षको तुलनामा यस वर्ष भारी रूपमा खराब कर्जा घटाउँदा महालक्ष्मीको भने कमजोर देखिएको छ । लुम्बिनी विकास बैंकले ३.३४ बाट १.५७ प्रतिशतमा खराब कर्जा घटाएको थियो । गरिमा विकास बैंकको खराब कर्जा ०.०२ प्रतिशत मात्रै रहेको छ । यसैगरी, कैलाश विकास बैंकको खराब कर्जा ०.२४ प्रतिशत मात्र रहेको छ ।

विकास बैंकहरूमध्ये अधिकांशले खराब कर्जा घटाउँदै लगेका छन् । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले वार्षिक रूपमा खराब कर्जा घटाउँदै लगेको बताए । उनले लिलामी गरेको धितोको पनि मुद्दा परेर रोकिँदा त्यसले असुलीमा केही समस्या परेको बताए ।

गत आर्थिक वर्षको तथ्यांकलाई केलाउँदा मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक, ज्योति विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंकको खराब कर्जा १ प्रतिशत पनि छैन । समग्र रूपमा राष्ट्रिय स्तरका विकास बैंकको खराब कर्जा शून्य दशमलव ९४ प्रतिशत मात्र रहँदा महालक्ष्मीको २.५४ प्रतिशत रहेको हो ।

प्रतिक्रिया दिनुहोस्