हेलिकप्टरबाट सदरमुकाम ल्याइयो हत्या आरोपितलाई



१९ भदौ, गोरखा– गोरखामा कुटपिट कार्यमा संलग्न एकजनालाई हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ३८ बर्षका निमा दोर्जे लामालाई हेलिकप्टरमार्फत जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएको हो ।

मंगलबार उनले कुटपिट गर्दा सोही ठाउँका ६८ बर्षका तेन्जेन दोर्जाे लामाको मृत्यु भएको आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीले हेलिकप्टरबाट ल्याएको हो । गुम्बा निर्माणको जिम्मा लिएको आफूलाई बारम्बार वालुवा चोरेको आरोप लगाएपछि तेन्जेनलाई कुटपिट गरेको निमाले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । ‘वालुवा चोर भनेपछि मंगलबार दिउँसो एक बजे निमाले तेन्जेनलाई कुटेछन्, करिव चार बजेतिर त्यही बाटो फर्कदै गर्दा दुई जनाको भेटमा फेरि वालुवा चोर भनेपछि निमाले पुन तेन्जेनलाई कुटेका रहेछन्,’ उनले भने ।

कुटिएका तेन्जेनको त्यही साँझ मृत्यु भएको उनको भनाइ छ । भौगोलिक बिकटताका कारण शव र हत्या आरोपितलाई वुधवार हेलिकोप्टरबाट आरुघाट ल्याइएको उनले जानकारी दिए । ‘पोष्टमार्टमका लागि शव यहाँ ल्याउन पैदल बाटोको प्रयोग गरेको भए सात दिन लाग्ने रहेछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर हेलिकोप्टरमा शव र हत्या आरोपित दुवैलाई लिएर आएका हौ ।’

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको एसपी अधिकारीले बताए । हत्या आरोपित निमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर ज्यान मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्