दसैं तिहारको मौकामा भाडा बढाउन यातायात व्यवसायिको चलखेल



अग्रिम टिकट बुकिङ अझै अन्यौलमा

१९ भदौ, काठमाडौं– दसैं तिहारको मौका छोपेर सवारी भाडा बढाउन यातायात व्यवसायीले चलखेल गरेका छन् । दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु गर्ने तयारी हुँदा व्यवसायीले वैज्ञानिक भाडा दर हुनुपर्ने माग उठाएका हुन् ।

यातायात व्यवस्था विभागले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेपछि दुवै पक्षविच पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको छ । तर, व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नसकिने बताएका छन् ।

यातायात व्यवस्था विभागले आगामी साता बुकिङ खोल्नेबारे पुनः व्यवसायीसँग छलफल हुने बताएको छ । हालसम्म कुन रुटमा कति बस सञ्चालनमा छन्, दशैंका लागि कति थप बस अन्य क्षेत्रबाट ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा आवश्यक तयारी र अध्ययन भएको छैन । तर विभागले भाडा समायोजनमा विषयमा व्यवसायीसँग दशैं–तिहार अघि छलफल नै हुन नसक्ने बताएको छ ।

यातायात व्यवसायीले २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने र अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्