चिनियाँ विदेशमन्त्री वाङ आइतबार आउँदै



१९ भदौ– काठमाडौं– चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको तयारीका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ । २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ । अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन । विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे अहिल्यै केही बताउन नसकिने बताए । उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमै वाङलाई नेपाल भ्रमणको निम्ता दिएका हौं । बीचमा कुराकानी पनि भएको छ । भ्रमण निश्चित भएपछि दुवै मुलुकले एकैपटक जानकारी दिने प्रचलन छ ।’

परराष्ट्र मन्त्रालय उच्च स्रोतले भने विदेशमन्त्री वाङ आगामी आइतबार काठमाडौं आउने बतायो । स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यसअघि पनि पटकपटक नेपाल भ्रमण गरेका चिनियाँ राजनीतिज्ञ हुन् । उनी सोमबार फर्कने कार्यक्रम छ ।

विदेशमन्त्री वाङले भ्रमण राजनीतिक केन्द्रित बनाउने निश्चित छ । उनले नेपालमा रहँदा समकक्षी ज्ञवालीसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्