सत्तारुढ दलकै विद्यार्थी नेतामाथि प्रहरीको ठाली



अनेरास्ववियु संयोजक ऐन महरसहितका नेताहरू घाइते

१८ भदौ, काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी नेताहरुमाथि प्रहरीले लाठी बर्षाउँदा संयोजक सहितका नेताहरू घाइते भएका छन् । उक्त घटनामा अनेरास्ववियूका संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।

प्रहरीले पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गरी ऐन महर नेतृत्वको टोलीले पटक पटक परिचय दिँदादिँदै पनि बहुलठ्ठिपूर्ण ढंगबाट दमन कुटपिट र ज्यादती गरेको भन्दै भर्त्सना गरेका छन् ।

उनले आक्रमणमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । यस विषयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण गराउने अनेरास्ववियूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्