तिब्बती शरणार्थीलाई वशंजको आधारमा नागरिकता दिने वडाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दर्ता



१८ भदौ, कास्की– तिब्बती शरणार्थीलाई वशंजको आधारमा नागरिकता दिने वडाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । तिब्बती शरणार्थीलाई वशंजको आधारमा नागरिकता दिलाएको आरोप लागेका उनिहरूबिरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको हो ।

मंगलबार पोखरा १८ निवासी लेखबहादुर थापाले पोखरा २५ शरणार्थी क्याम्पमा बस्दै आएका आफ्ना २ नातिनीलाई छोरी बनाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता उपलब्ध गराएको प्रकरणमा मुछिएका उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

बाबु बनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर, सर्ज्मिन मुचुल्कामा दस्तखत गर्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता भएको छ ।

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञान बहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायव सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापा विरुद्धसमेत मुद्दा दर्ता भएको कास्कीका सहायक जिल्ला न्यायाधीवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार आरोपित १४ जनामध्ये बाबु बनेर झुठो विवरणमा सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने तिब्बती शरणार्थीहरुलाई नागरिकता ऐन, २०६३ को दफा २१ (१) बमोजिम १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्