एउटालाई देखाएर अर्कैको मिर्गौला निकाली प्रत्यारोपण



१८ भदौ, काठमाडौं– काठमाडौंकै अस्पतालले व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ । काडमाडौंको निदान अस्पतालले एक व्यक्ति देखाएर अर्कै व्यक्तिको मिर्गौला निकालेको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन् ।

डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन् ।

योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो । नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । गैरकानुनी ढंगले झिकिएको मिर्गौला डा. श्रेष्ठको टोलीले योञ्जनको शरीरमा प्रत्यारोपण गरेको थियो ।

अस्पतालले घटना गुपचुप पार्न खोजिरहेको ती बिरामीको भनाइ छ । निदानमा भेटिएका मिर्गौलाका बिरामीले अस्पताल प्रशासनले सत्यतथ्य बाहिर नल्याए प्रशासन गुहार्ने तयारी गरेका छन् । अस्पतालका कर्मचारीले समेत यो घटना छानबिन गर्न माग गरेका छन् ।

दोरम्बा गाउँपालिकाले गत असार २० गते स्थानीय बासिन्दा शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गर्न उनका नातेदारको नाता प्रमाणित गरिदियो । नाता प्रमाणित गरिएको कागजमा लामाका भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भए । तर निदान अस्पतालले घिसिङको मिर्गौला निकालेन ।

नाटकीय र चलाखीपूर्ण ढंगले निदान अस्पतालका चिकित्सकले कलंकी बस्दै आएका मिर्गौला तस्करी गर्ने केदार नाम गरेका व्यक्तिले खोजेर ल्याएका एक युवकको मिर्गौला निकाले । केदारले ती युवालाई आर्थिक प्रलोभनमा पारे । त्यसपछि ती युवाको मिर्गौला योञ्जनलाई प्रत्यारोपण गरियो ।

निदानका चिकित्सकले मिर्गौला झिकिएका व्यक्ति र गाउँपालिकाले दिएको नाता प्रमाणपत्रमा उल्लेखित भान्जा नाताका घिसिङको फोटोसमेत भिडाएन । मिर्गौला झिकिएका व्यक्ति र नाता प्रमाणित प्रमाणपत्रमा उल्लिखित व्यक्तिको फोटो नभिडाउनुले गैरकानुनी ढंगले मिर्गौला प्रत्यारोपण गरिएको पुष्टि हुन्छ । कार्कीले ५ लाख रुपैयाँ दिने सर्तमा ती युवालाई दाङबाट काठमाडौं ल्याएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्