२० लाख नदिए ज्यान मार्ने धम्की दिने पक्राउ



१७ भदौ, काठमाडौँ– एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले आज काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो । कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ ।

आज भदौ १७ को मिति दिँदै बालाजुको पुल नजीक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्