नाका सन्चालनमा आएपछि तस्करहरु सक्रिय



१६ भदौ, सिन्धुपाल्चोक– चिन र नेपालबिचको ठुलो व्यापारीक तातोपानि नाकामा तस्करहरु सक्रिय हुन थालेका छन् । भुकम्प पछि ४ बर्षपछि खुलेको नाकामा सिमाक्षेत्रको बाटो भएर तस्करीहरु सक्रिय हुन थालेको पाइएको छ ।

तातोपानी नाका यसअघिको दिनमा समेत अवैध कारोबारको लागि प्रख्यात थियो । भूकम्पपछि बन्द भएको बेलामा चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुद नभएकै कारणले नाका खोल्न आनकानि गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महिना बित्न नपाउँदै नाकाबाट अवैध सामाग्रीको ओसारपसार सुरुवात भएको छ ।

चिन अवैध कारोबार गर्नका लागि भारतले समेत तातोपानी नाकालाई ‘ट्राजिन्ट प्वाइन्ट’ बनाएको छ । केहि दिनयता मात्रै भारतबाट नेपालको बाटो बनाउँदै तातोपानी नाकाबाट चिन भित्राउन लागेको ८३ केजी रक्तचन्दनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियोे । रक्तचन्दन र दुई भरिया सहित काठमाडौंको बौद्धबाट प्रहरीले पक्राउ गरेको हो । ।

केहि साता अघिपनि तातोपानी नाका हुदैँ संघिय राजधानी काठमाडौँ भित्राउन लागेको अवैध खाद्य सामाग्री बरामद भएको थियो । लोड गरेर फिर्ता आउँने क्रममा मितेरी पुलबाट अवैध मादक पदार्थ सहित खाद्य सामाग्रीको बोलेरो पक्राउ परेको थियो । पक्राउ परेको बोलेरो र चालक १ लाख ८ सय पैसठ्ठी धरौटीमा रिहा भएका थिए । तर, अवैध सामाग्री पक्राउ परेपनि बाहिर कुनै सुचना आएको थिएन । पक्राउपरेका चालक रिहा भैसकेपछि मात्रै रहस्य बाहिर आएको थियो ।

सुरक्षाको दृष्टिले चुस्त पारेको हुनाले अहिलेसम्म कुनै अवैध गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले दावी गर्नुभयो । ‘खासाबाट लोड भएर आएको सबै सामान बन्दरगाहमा आएर चेकजाँच हुन्छ, यताबाट उता प्रवेश नै कठिन छ’ डिएसपी काफ्लेले भन्नुभयो, ‘त्यसैले अहिले कुनै अवैध सामाग्री ओसारपसार हुन सकेको छैन ।’

अवैध व्यापार अवस्था यस्तो थियो

सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पअघि अवैध व्यापारमा चर्चित थियो । सुन, रक्तचन्दनलगायतको अन्य बहुमुल्य सामाग्री ओसारपसारको केन्द थियो । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने सुन, रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेको थियो ।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । एता सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट पनि रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए ।

तातोपानी नाका बन्द भएपछि तस्कारीले व्यापारीक केन्द्र परिर्वतन गरेको पाइन्छ । तातोपानी नाका बन्द भएपछि अवैध सुन रसुवाको केरुङ नाकाबाट समेत पक्राउ परेको थियो । तस्करीले विभिन्न ठाउँबाट धेरै संयन्त्र अपनाएर तस्कारी गर्दै आएका थिए ।

चिनको अविस्वास

नेपाल र चिनबिचको प्रमुख व्यापारिक केन्द्र हो तातोपानी नाका । तातोपानी नाका भूकम्पपछि बन्द भयो । लामो कसरतपछि नाका सञ्चालनमा आएको दुई महिना बित्यो । तर, नाकामा अवैध व्यापारमा तस्कारी सक्रिय भएको खुल्न आएको छ ।

चिनले तातोपानी नाका सञ्चालनमा ल्याउनको लागि सुरक्षाको दृष्टिले ठेस पुगेको हुनाले आनाकानी गरिहरेको थियो । तातोपानी नाकाबाट पहिलेको जस्तो अवैध व्यापार नियन्त्रण गर्नका लागि चिनियाँ पक्षले नेपाली टोलीसँगको वार्तामा पटक पटक भन्दै आएको थियो ।

नेपाली सरकारी टोलीले सुरक्षा प्रत्याभूत गराएपछि मात्रै चिनियाँ टोली नाका सञ्चालनमा तत्पर भएको थियो । गृहमन्त्री रामबहादुर थापाले नाका सञ्चालनको एक साता अगाडि नाकाको सुरक्षा अवस्था चुस्त राख्न निर्देशन दिनुभएको थियो । तर, नाकाको पछिल्लो अवस्थालाई हेर्दा नेपालले चिनको चासोमाथि ठेस पुर्याएको प्रष्ट हुन्छ ।

कवाडि सवारी साधन र रक्त चन्दन अलपत्र

तातोपानी नाकाबाट बरामद भएका रक्तचन्दन र सवारीसाधन अहिले अलपक्र अवस्थामा थन्किएर बसेको छ । बरामद भएका रक्तचन्दन सड्ने अवस्थामा पुगेका छन् भने सवारीसाधन कवाडि बनिसकेका छन् ।

अवैध रुपमा भित्राउने क्रममा प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन कुहिने अवस्थामा पुगेको छ । चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । बरामद भएका सामाग्रीको बिषयमा कानुन कानुन नहुँदा के गर्ने भन्नेमा अन्यौलता छाएकै कारणले अलपत्र परेको हो ।

प्रशासन कार्यालयको प्रांगणमा ६२ सालदेखि बरामद गरिएको रक्तचन्दन र कवाडि बनिसकेका सवारी थन्किएर बसेका छन् । २०६२ सालमा बाह्रबिसे प्रहरीले बरामद गरेको ७ हजार ८ सय किलो, ६४ सालमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको ६ हजार ६ सय किलो, ६४ मा विशेष अनुगमन टोलीले बरामद गरेको ८ हजार २ सय किलोलगायतका रक्तचन्दन अपलपत्र अवस्थामा छन्

सिमा क्षेत्रका वासिन्दा आय आर्जनमा टेवा

नाका सञ्चालन भएपछि तातोपानी नाकाको व्यापारमा वृद्धि भएको छ । जेठको १५ गतेबाट औपचारीक रुपमा सञ्चालनमा आएको नाकामा अहिले विस्तारै व्यापारमा वृद्धि हुदै आएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

नाकामा व्यापार वृद्धि भएपछि राजस्व संकलनमा समेत वृद्धि भएको उहाँले बताउनुभयो । नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्र्तरालमा ५३ लाख मात्र राजस्व संकलन भएको थियो । यसअघि यस नाकाबाट दैनिक करौडौँ राजस्व संकलन हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्