सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प



स्थानीय सप्लायर्स र मजदुरको बिचल्ली

१६ भदौ, मेलम्ची– मेलम्चीको पानी काठमाण्डौं लैजाने जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले एक अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर आफ्नै देश फर्किदा स्थानीय सप्लायर्स, मजदुरलगायत बिचल्ली परेका छन् । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्काे ब्याजमा लिएको ऋण तिर्न नसक्ने अबस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।

सिएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । आयोजना र नेपाल सरकारले जफत गरेको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुको छ । सिएमसीको धरौटी, आयोजनाबाट भुक्तानी हुन बाँकी, एक अर्ब मूल्य बराबरको उपकरण, निर्माण सामग्रीलगायतका रकम आयोजना र नेपाल सरकारले जफत गरेको थियो । सो रकम आफूहरुले पाउनुपर्ने भन्दै बिहीबार पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्दै सहज वातावरणका लागि प्रमुख जिल्ला अधिकारीसामू आग्रह गरे ।

मोटरलगायतका उपकरण सप्लाई गरेको बिरा मोटर्सले मात्रै सिएमसीसँग ८० करोड रुपैयाँ लिन बाँकी छ । मोटर्सका सञ्चालक दिनेश श्रेष्ठका अनुसार मन्त्रालयका सचिवलगायतले समेत सिएमसीलाई सामग्री दिनु भनेका थिए । पछिल्लो समय मेलम्चीको काम तीव्र गतिमा भएको थियो । त्यो अवधिको सामग्री आफूले सप्लाई गरेको श्रेष्ठको दाबी छ । ‘मासिक २० करोडको सामग्री सप्लाई गरें,’ उनी भन्छन्, ‘अहिले विचल्लीमा परियो, घर जग्गा लिलाम हुने अवस्थामा छ ।’

सिएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाण्डौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ । बाँकी काम सम्पन्न गर्नका लागि गरिएको ठेक्का प्रक्रिया अन्तर्गत दुई प्याकेजमा ठेक्का लगाइएको थियो । सिनो हाइड्रोले हेडवक्र्सतर्फ २९ प्रतिशत विलोमा गएर ९० करोडमा र सुरुङतर्फ १५ प्रतिशत विलोमा गएर ७५ करोडमा ठेक्का पाएको हो । नयाँ कम्पनीले काम गर्ने भएपछि सिएमसीसँग पैसा लिन बाँकी सप्लायर्स र मजदुरले आफ्नो पैसा नपाए आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

आयोजनालाई मोटर, उपकरण भाडामा दिएका ई. श्रीराम न्यौपाने ठेक्का प्रक्रिया र भुक्तानी प्रक्रिया एकैचोटी हुनुपर्ने माग पीडितहरुको भएको बताउँछन् । ‘नौ महिनासम्म भुक्तानी नपाउँदा हामी अलपत्र परेका छौं,’ न्यौपानेले भने, ‘बैंकले घर जग्गा लिलामीको प्रक्रियामा जाने समय नजिकिएको बताउँदा चिन्तित छौं ।’ उनले सिएमसीको धरौटीलगायतको रकम नेपाल सरकार र आयोजनाले जफत गरेका कारण नीतिगत निर्णय गरेर पीडितहरुको रकम फिर्ता गर्नुपर्ने बताए ।

सीएमसीले रिचार्ज कार्ड, गिटी, बालुवा, सिमेन्ट, छड, इन्धन, हवाइजहाजको टिकटलगायत सप्लायर्सहरुको रकम तिर्न बाँकी भएको हो । बालुवा, गिटी सप्लाई गरेको स्थानीय उत्तरकुमार श्रेष्ठ सिएमसीसँग आफूले चार करोड रुपैयाँ लिनुपर्ने दाबी गर्छन् । ‘यो रकम फसेका कारण आफू अहिले जिरोमा झरेको छु,’ उनले भने, ‘आर्थिक अभावका कारण मानसिक तनाव हुन थालेको छ ।’ उनका अनुसार पैसा नपाएका कारण मजदुरहरु घर फिर्नसमेत पाएका छैनन् ।

तिर्न बाँकी रहेका सप्लायर्स तथा मजदुरहरुलाई सिएमसीले भुक्तानी गर्नुपर्ने रकम प्रमाणिकरण गरेर कागजपत्र दिएको छ । तर, सिएमसी आफै यहाँ नभएकाले पाउनुपर्ने रकम गुम्न सक्ने खतरा भएको हुँदा पीडितहरुले सरकारको ढोका ढक्ढकाएका हुन् । हवाई टिकट सप्लाई गरेको यति होलिडेज्का प्रोपाइटर मोहन भट्टराईले आफूले ७५ लाख रुपैयाँ पाउनुपर्ने रहेको बताए । ‘आवश्यक अनुसार टिकट दिएँ, अहिले फसियो ।’ उनले भने । भट्टराईका अनुसार सिएमसीका कर्मचारी आउजाउका लागि उनले टिकट सप्लाई गरेका थिए ।

पीडीतहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले यहाँहरु समस्यामा परेकाले आफूले सक्दो पहल गर्ने आश्वासन दिइन् । ‘आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक पहल गर्छु,’ उनले भनिन्, ‘मन्त्रालय र अन्य सरोकारवाला निकायमा ज्ञापन पत्र पु¥याउनेछु ।’ पीडितहरुले बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र समस्या नसुल्झिए शान्तिपूर्ण तर परिणाममुखी आन्दोलनमा होमिनुको विकल्प नभएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्