एटीएमबाट पैसा चोर्ने चोरहरूसँग चिनियाँ दूतावासका सेक्रेटरीको भेट



१७ भदौ, काठमाडौं– नेपाली बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्दै गर्दा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौंस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फाङ सोइलिङले भेट गरेका छन् ।

फाङले सोमबार महानगरीय प्रहरी परिसर टेकु पुगेर पक्राउ परेका आफ्ना ६ जना नागरिकलाई भेटेका हुन् । शनिबार राति र आइतबार गरी प्रहरीले ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । राजधानी दैनिकले खबर छापेको छ ।

चोरीमा संलग्नले गलत गरेको भए पनि चीनमा रहेका आफन्तलाई उनीहरूको अवस्थाबारे जानकारी दिन आफूले भेट गरेको फाङले बताए । उनले नेपाल प्रहरीलाई अनुसन्धानमा सघाउने प्रतिबद्धता पनि जनाएको काठमाडौं प्रहरी परिसरका डीएसपी बोगटीले जानकारी दिए ।

गत शनिबार नबिल बैंकको दरबारमार्ग्स्थित एटीएम बुथमा प्रभु बैंकको सिस्टमबाट अस्वाभाविक रूपमा रकम निकालेको जानकारी पाएपछि प्रभु बैंकका एक कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै अपरेसनमा खटिएको प्रहरी टोलीले तत्काल पाँच जनालाई पक्राउ गरेको थियो भने आइतबार थप एक जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्