दुर्घटनामा डाक्टरसहित दुईको मृत्यु



१७ भदौ, दाङ– दाङमा सवारी दुर्घटनामा परि डाक्टर सहित दुई जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिकाको वडा नम्बर ८ पिपरीमा दुई वटा मोटरसाइकल र ट्रक ठोक्किदा दुर्घटना भएको हो । दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प २०६१ नम्बरको मोटरसाइकल र भालुबाङबाट पश्चिमतर्फ आउँदै गरेको लु १९ प ५५०६ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किए पछि रा ३ प २०६१ नम्बरको मोटरसाइकललाई पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कदर दिएको थियो ।

रा ३ प २०६१ नम्बरको मोटरसाइकल चालक दाङ जिल्ला लमही नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय डा.विनय चौधरीको उपचारका क्रममा साढे आठ बजे मृत्यु भएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २६ वर्षीय बालकृष्ण भण्डारीको पनि साढे आठ बजे नै मृत्यु भएको प्रहरीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । डा.चौधरी र भण्डारीको उपचारका क्रममा लमहीस्थित अस्पतालमा मृत्यु भएको थियो ।

लु १९ प ५५०६ नम्बरको मोटरसाइकलका चालक दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष २७ का दीपक मरासिनीको खुट्टा र हातमा चोट लागेको छ । उनको सिसहनियाँस्थित विष्ट पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्