सुरक्षा संवेदनशीलतामा असर ठूला भवनलाई कारवाही गरिने



काठमाडौं– भदौ १६, सुरक्षा संवेदनशीलतामा असर गर्ने ठूला भवनलाई सरकारले कारबाही गर्ने भएको छ । आइतबार गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतमाम असर पुर्‍याउने भवनका सम्बन्धमा छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार शाही, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान विभागका प्रमुख, काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काठमाडौंका प्रजिअ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले समितिले सिफारिस गरेबमोजिम कारबाही थाल्ने निर्णय गरेको हो ।

समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन रोक लगाउने तयारी समेत गरेको छ । यस्तै, बनिसकेका भवन आवश्यक प्रक्रिया पूरा गरी अधिग्रहण वा आवश्यक कारबाही अघि बढाउने सिफारिस गरेको थियो।

विशेषगरी अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको सिई रियल इस्टेट निर्माणमा रोक लगाई अधिग्रहण गर्न सिफारिस गरेको थियो ।

यसैगरी, सिंहदरबार दक्षिण गेट, राष्ट्रिय अनुसन्धान विभागको कार्यालयअघि बनेको इमिरो प्लाजा मापदण्डविपरीत देखिएकोले आवश्यक कारबाही गरी अधिग्रहण गर्नसमेत सिफारिस गरेको छ ।

गृह प्रवक्ता रामकृष्ण सुवेदीले अध्ययन समितिले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको पुष्टि गरे । प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्