बीपी राजमार्ग दुई लेनको बनाउने सरकारको निर्णय



सुरूङ मार्ग निर्माण गरी २३ किलोमिटर दूरी घटाईने

काठमाडौं– उपत्यकालाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीको बिपी राजमार्ग चौडा बनाइने भएको छ । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग सँघुरो भएका कारण दुर्घटना बढ्नुका साथै ठूला सवारी आवागमन भएको थिएन ।
अब दुई लेनको बन्ने भएको छ ।

सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । धुलिखेल नगरपालिकाको काभ्रभञ्ज्याङबाट पूर्वतर्फ ठूला सवारीसाधनलाई रोक लगाईएको यो राजमार्ग जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले विस्तार गर्ने अगाडि बढाएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए ।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम यसै वर्ष अगाडि बढ्नेछ । खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्