एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ नागरिक पक्राउ



बैंकिङ सिस्टम ह्याक भएपछि अधिकांश बैंकका एटीएम चलेनन्

काठमाडौं– एटीएमबाट पैसा चोर्दा चोर्दै पाँच जन चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंकिङ प्रणाली नै ह्याक गरेर एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट मध्यराति पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । काठमाडौं प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने बताएको छ । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने समूहविरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो । यो समूह पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता ठानेको छ ।
नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’ एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।
बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ । स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२–१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्