तराईमा ऋण आतंक : नक्कली तमसुक बनाउँदै गरिबको उठिबास लगाउँदै



मलंगवा– तराई क्षेत्रमा साहुसँग लिएका ऋण तीर्न नसकेर घरबास बेच्नेहरूको संख्या उल्लेख्य । छ । पटक पटक समाचार बनेर राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशन भएपनि यस्ता समस्या हल हुँन सकेको छैन ।

लिएको ऋण भन्दा २० गुणा सम्म बढी असुल्न थालेपछि ऋणीहरू घरजग्गानै बेच्न बाध्य हुने गरेका छन् । साहुले ऋण लगानी गर्छ । तोकेबमोजिम ब्याज असुल्छ । समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था । तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ । ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ । नतिरे धम्की दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ। कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्।

लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन वर्षअघि आत्महत्या गरिन्। चौधरीले उनीबाट पति विदेश पठाउन तीन लाख ऋण लिएका थिइन्।

ऋण तिरिसक्दा पनि कलवारले अझै चारगुणा बाँकी रहेको भन्दै तनाव दिएपछि चौधरीले आत्महत्या गरेकी थिइन्। चौधरीले आत्महत्या गरे पनि उनको परिवार ऋणबाट मुक्त भएन। कलवारले दुर्गाका ससुरा श्रीकान्तलाई पनि नियमित दबाब दिन थाले। मानसिक दबाब सहन नसकेपछि श्रीकान्तले पनि आत्महत्या रोजे। ‘खाना खाने बेला पनि टर्चर दिएकै छ। पाहुना आउँदा पनि टर्चर दिएकै छ। त्यसकारण दुर्गा र उनका ससुराले आत्महत्या गरे’, अर्का पीडित हरीशचन्द्र महतोले भने, ‘त्यो परिवार मात्रै होइन कलवारका कारण धेरै जना यस्तै अवस्थामा पुगेका छन्।’

महतो पनि कलवारका ऋणी हुन्। उनले साढे २ लाख ऋण लिएका छन्। तर, कलवारले महतोसँग ४ वटा कागज गराएका छन्। ५० हजार, ११ लाख, १७ लाख र ४५ लाख गरी साढे ७३ लाखको कागज गराएको महतोले बताए। ब्याजसहित तिर्न जाँदा ७३ लाखको कागज देखाएपछि आफ्नो होसहवास उडेको महतोले बताए। उनले भने, ‘पैसा तिर्न नसकेपछि मविरुद्ध परदेशीले मुद्दा दर्ता गराए। ममाथि पक्राउ पुर्जी जारी छ। ऋण नै नलिएको पैसा अब कसरी तिर्ने ? ’

०७२ सालमा सर्लाही हरिपुरकी रीनादेवी साहलाई पनि आर्थिक संकट आइलाग्यो। उनले पतिलाई विदेश पठाउने अठोट गरिन्। तर पैसा थिएन। गाउँमा नाम चलेका साहु कलवारबाट दुई लाख ऋण लिइन्। ‘कलवारले दुई लाखमा पनि ३० हजार कटाएर पैसा दिए’, उनले भनिन्, ‘कागजचाहिँ तीन लाखकै गरे।’ किस्ता तिर्दै जाँदा उनको ऋण बढ्दै गयो। जतिपटक किस्ता तिर्न गयो त्यति नै पटक कलवारले कागज गर्दै ऋण बढाएको उनको दुःखेसो छ।

अहिलेसम्म उनले साहुलाई चार लाख ५० हजार बुझाइसकिन्। तर ऋण चुक्ता हुने छाँटकाँट छैन। ‘किस्ता बुझाउन सासूलाई १० हजार दिएर पठाएकी थिएँ। साहुले उल्टै ३० लाखको ऋण कागजमा ल्याप्चे लगाएर पठाएछन्’, उनले अन्नपूर्णसँग भनिन्, ‘मेरो घरमा अहिले सातवटा तमसुक छन्।’

कलवारले चार लाख ५० हजार बुझाएपछि कागज लिन आउनु भनेको जानकारी उनले दिइन्। ‘कागज लिन बोलाउँथ्यो। तर, छोरीको घरमा छ पछि आउनु भन्दै फर्काउँथ्यो’, उनले रुँदै भनिन्, ‘मलाई उसले एकजना १२र१३ वर्षको केटी पठा म तेरो कागज पनि दिन्छु त्यो केटीलाई पैसा पनि दिन्छु भन्थ्यो। मैले कहाँबाट पठाऔं भन्दा गाउँमा होलान् नि भन्ने गरेको थियो।’ साहुले अझै १४ लाख तिर्न बाँकी रहेको बताउने गरेका छन्। ‘लिएको भन्दा २० गुणा ऋण बढेपछि भएको दस धुर जग्गा बेचें’, उनले भनिन्, ‘अहिले नारायणगढमा आएर काम गर्दै बसेकी छु।’

कलवारबाट ऋण लिएर पीडा भोगेका केही दृष्टान्त मात्र हुन् यी । उनीसँग २ सय ९९ जनाले ऋण लिएको पीडितको दाबी छ । पीडितहरू अहिले संघर्ष समिति नै गठन गरेर कलवारको भण्डाफोर अभियानमा जुटेका छन् । उनीहरूका अनुसार समितिमा १ सय ५० जना जोडिएका छन् । सबै पीडितका ऋण जोड्दा कलवारबाट १ करोड ९ लाख २१ हजार लिएको देखिन्छ । त्यसमध्ये पटकपटक गरेर एक करोड ४७ लाख चार हजार तिरिसकेको पीडितको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्