अरवौं घुस खाएर एनसेलको पक्षमा फैसला गरेको आरोप लगाउँदै खारेज गर्न विप्लवको चेतावनी



काठमाडौं– नेतविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले अरवौं घुस खाएर एनसेलको पक्षमा फैसला गरेको आरोप लगाउँदै उक्त फैसला खारेज गर्न चेतावनी दिएको छ ।

लगातार एनसेलमाथि आक्रमण गर्दै आएको यो समूहले मोवाइल सेवा प्रदायक कम्पनी एनसेलसँग कर असुलीबारे सर्वोच्च अदालतको आदेश खारेज गर्न चेतावनी दिएको हो । सरकारको निर्देशनका आधारमा सर्वोच्च अदालतले राष्ट्रघाती आदेश गरेको भन्दै विप्लव समूहले त्यसविरुद्ध आन्दोलनको घोषणा पनि गरेको छ । ‘पार्टीले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ, सरकारको निर्देशनमा नै यो राष्ट्रघाती आदेश आयो’, महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘एनसेलबाट अरबौँ रकम घुस खाएर देशलाई टाट पल्टाउने अपराध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारबाहीका लागि जनता उठ्नेछन् ।’ भदौ १७ गते न्यायाधीशहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्