काँग्रेसको राजनीतिक प्रतिवेदन : देउवापनि मुछिएपछि वाइडबडी लाई हावइजहाज काण्ड बनाइयो



काठमाडौं– नेपाली काँग्रेसको राजनीतिक प्रतिवेदनमा समावेश भएको बहुचर्चित वाइडवडी काण्डलाई हावइजहाज काण्ड बनाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाईजहाज काण्ड’ उल्लेख गरिएपछि पार्टीका केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको समेत नाम मुछिएपछि प्रतिवेदनबाट सो काण्डको नाम उल्लेख नगरिएको हुन सक्ने कांग्रेसकै नेताहरुले आरोप लगाएका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बिहीबारको बैठकमा प्रस्तुत गरेको दुई पृष्ठको राजनीतिक प्रस्तावमा नेपाल वायुसेवा निगमको ‘वाइडबडी काण्ड’ लाई लक्षित गर्दै ‘हवाईजहाज’ भन्ने नरम शब्दावली प्रयोग गरेका थिए । त्यसैलाई लिएर शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले ‘वाइडबडी’ लेख्न किन डराएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

वाइडबडी प्रकरण लेख्नुपर्ने माग राख्नेमा संस्थापन इतरपक्षीय केन्द्रीय सदस्यहरू बढी छन् । उनीहरूले सभापति देउवाको नामसमेत यस प्रकरणसँग जोडिएर आएकाले दस्तावेजमा चलाखीपूर्वक ‘वाइडबडी’ नलेखिएको आशंका गरेका छन् ।

सभापति देउवाले वाइडबडी प्रकरणको छानबिन गर्न संसदबाट माग गरेका थिए । तर, विस्तारै पहिलो किस्ता दिनेबेला उनि आफै संलग्न देखिएपछि त्यसबाट पछि हटेका थिए । संसद्ले लेखा समितिमार्फत उपसमिति बनाई छानबिन गरेको थियो । तर, देउवाको नाम यस प्रकरणसँग जोडिएर आएपछि नेतृत्व मौन बस्न थालेको पार्टी्भित्रै आरोप लाग्दै आएको छ ।

कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले जहाज प्रकरण उल्लेख गर्दा कुन जहाज प्रकरण हो भन्ने कुरा प्रस्ट नभएको बताउनु भयो । ‘लाउडा काण्ड, चेज काण्ड, विमान दुर्घटना हो कि वाइडबडी भन्ने खोजिएको हो ? प्रस्ट भएन,’ थानीले भन्नुभयो, ‘राजनीतिक प्रस्तावमा वाइडबडी भनेर किटानीसाथ किन लेख्न नसकिएको ?’

सहमहामन्त्री प्रकाशरण महतले ‘वाइडबडी’ मात्रै नभएर ‘न्यारोबडी’को अनियमितताको विषयसमेत आएकाले ‘हवाईजहाज काण्ड’ भनेर लेखिएको बताउनु भयो । सभापतिको नाम जोडिएको भएर वाइडबडी लेख्न डराउनु भएको हो भन्ने प्रश्नमा महतले भन्नुभयो, ‘सबैभन्दा पहिला सभापतिले नै संसद्बाटै छानबिनको माग गर्नु भएको हो । महासमिति बैठकमा वाइडबडी काण्ड भनेर मैले नै राखेको प्रस्ताव पारित भएको छ । नियतवश नलेखिएको होइन । प्रस्ट पार्न परे यसमा परिमार्जन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्