यात्रु बस नदीमा खस्दा २४ जनाको मृत्यु



पाकिस्तान– पाकिस्तानको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी २४ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस नदीमा खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

प्रहरी अधिकारीका अनुसार मृत्यु भएका मध्ये १५ पुरुष, पाँच महिला र चार बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको कोहिस्तानका जिल्ला प्रहरी अधिकृत राजा अब्दुल साबुरले जानकारी दिएको सिन्ह्वाले जनाएको छ ।
प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सबै यात्रुको मृत्यु भएको छ । दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ । प्रहरी र उद्धारकर्मीहरुको टोली घटनास्थलमा पुग्दा अँधेरो भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्