राजपाका नेता एवं पूर्वमन्त्री नेपालीको निधन



काठमाडौं– पूर्व मन्त्री तथा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता गणेश नेपालीको निधन भएको छ ।

पूर्वमन्त्री नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवासमा निधन भएको हो । नेपाली लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्व खेलकुद मन्त्रीसमेत रहनु भएका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं। २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आए थिए । उनको शनिबार बिहान जलेश्वरमा श्रद्धाञ्जलि तथा शवयात्रा गरी पर्सापतैलीमा गएर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको जनाइएको छ । विक्रम संवत् १९९९ सालमा जन्मिएका नेपाली २०२७ सालमा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा होमिएसँगै आफ्नो पुस्तैनी थर तिवारीको ठाउँमा नेपाली भन्न र लेख्न थालेका थिए ।

०४४ सालमा नेपाली कांग्रेस महोत्तरीको जिल्ला सभापतिमा निर्वाचित उनी २०४६ सालको ऐतिहासिक जनआन्दोनलमा जिल्लाका मुख्य कमाण्डर नै थिए । राजनीतिक यात्रासँगै उनी २०५२ सालमा तत्कालीन एमालेमा आबद्ध भएका थिए । उनी एमालेसँगको आबद्धता ०६४ सालमा तोडेर तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए ।

नेपाली पहिलो संविधान सभाको निर्वाचनमा सभासदमा निर्वाचित भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री भएका थिए । पछिल्लो समय उनी राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध थिए ।

प्रतिक्रिया दिनुहोस्