दैलेख लैजानुपर्ने गाईगोरु जंगलमा छाड्ने पाँच ट्रक चालक सहित नियन्त्रणमा



सुर्खेत– दैलेख लैजानुपर्ने गाईगोरु सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवाको जंगलमा बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका ५ वटा ट्रक सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार राति ८ वटा ट्रकमा लगिएका दुई सय ९१ गाईमध्ये २३ वटा मरेका छन् भने अरु धेरै गाई सडक र जंगलमा अलपत्र अवस्थामा भेटिएका थिए । घटना सार्वजनिक भएपछि घटनामा संलग्नको प्रहरीले खोजि गरिरहेको थियो । नियन्त्रणमा लिइएका मध्ये एउटा ट्रक छिन्चु ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने चार वटा ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। साथै प्रहरीले ती ट्रकका चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना६ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर ननगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय बिबेक कुवँर रहेका छन्। यसैगरी, भे१ख १०१५ नम्बरका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर विश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसरी बेवारिसे अवस्थामा छोडिएका गाई नेपालगंज उपमहानगरपालिकाले पठाएको पनि खुलेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले नै चिठी लेखेर नेपालगंज उपमहानगरपालिका अन्तर्गतको कान्जिहाउसमा रहेका करिब ३ सय ७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्‍याउन सहयोग गरेको पत्र भेटिएको हो। यही भदौ ८ गते कार्यपालिकाको निर्णयअनुसार उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई पत्रको लागि अनुरोध गरेको पत्रमा उल्लेख छ। स्थानीयले दर्जनौं गाई मरेको खबरपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुवकुमार चपाई, १४ का वडाका अध्यक्ष टोप बहादुर दर्लामी, वीरेन्द्रनगर नगररपालिकाका कर्मचारी र पशु चिकित्सकसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो। स्थलगत निरीक्षणका क्रममा टोलीले १६ वटा गाई मरेका भेटिएको छ। जसमा १२ बटा गाई, ४ वटा गोरू मरेका भेटिएको हो। मरेका गाईगोरुको मुचुल्का र पोष्टमार्टम वीरेद्रनगरनगरपालिकाले गरेको छ। अन्य ७ वटा गाई गम्भीर घाइते अवस्थामा रहेका र अन्य गाई यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले घाइते गाईको उपचार गरिरहेको र प्रहरीलाई आवश्यक कार्वाही थाल्न अनुरोध गरेको बताए। नगरपालीकाले छाडा चौपायालाई व्यवस्थापन गर्न गौशाला निर्माण गरिरहेको पनि सुवेदीले जानकारी दिए।

बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट ल्याइएका २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा आज मृत भेटिएका थिए । कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिनुभयो । “नेपालगञ्ज उपमहानगरपालिकाको गाई र गोरु व्यवस्थापनमा लापरवाही देखिन्छ, गाई र गोरुलाई बीच जङ्गलमा छाडिएको छ, हामीले कानूनी कारवाही प्रक्रिया शुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

सात जना पक्राउ

गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । “चार ट्रक नियन्त्रणमा लिएका छौँ, अनुसन्धानपछि मात्रै सबै कुरा खुल्छ”, उहाँले भन्नुभयो । रावलले मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा दोषीलाई कारवाही गरिने राससलाई जानकारी दिनुभयो । मुलुकी अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ अनुसार गाई र गोरु मारेमा तीन वर्ष कैदको व्यवस्था छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी उत्तम शर्माका अनुसार अहिलेसम्म वीरेन्द्रनगर नगरपालिका–१४ स्थित गढीको भिरमा १७ गाई र गोरु मृत फेला परेका छन् । सुर्खेतको सुब्बाकुनामा आठ गाई र गोरु मृत तथा तीन गाई र गोरु घाइते फेला परेका छन् । उहाँले गाई, गोरु र बाच्छा गरी १३० घाइते फेला परेको जानकारी दिनुभयो । अहिले वीरेन्द्रनगर नगरपालिकाले घाइते गाई, गोरु र बाच्छाको उपचार थालेको छ । मृत भेटिएका गाई र गोरुको मुचुल्का उठाई शवपरीक्षण गरी जङ्गलमा गाड्न थालेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिनुभयो ।

यसरी पठाइएको थियो गाई र गोरु

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिनुभयो । “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरुलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भन्नुभयो ।

आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उहाँले बताउनुभयो । “नेपालगञ्जको काञ्जीहाउस सानो भएकाले नअटेर जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा गाई र गोरु पठाएका हौँ”, पौडेलले भन्नुभयो । अझै सडकमा सयौँ छाडा गाईवस्तु रहेको र तिमध्ये धेरैजसो भारतीय क्षेत्रबाट आएको उहाँले बताउनुभयो ।

“बीच बाटोमै मरेपछि चालकले ट्रकबाट गाई झारेको जानकारी पाएका छौँ”, पौडेलले भन्नुभयो । उहाँले गाई र गोरु भिरबाट खसालेको भन्ने आरोप सत्य नभएको बताउनुभयो । घाइते गाई र गोरु बाटोमा छाडेपछि यताउति गएर मरेको हुनसक्ने प्रहरीको अनुमान छ । “भिरमा मरेको अवस्थामा कसरी गाई र गोरु पुगे, यसबारे अनुसन्धान भइरहेको छ”, रावलले भन्नुभयो । घटना सार्वजनिक भएपछि शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानूनी कारवाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्