ठेक्का भएको नौ वर्षसम्म पनि सडक नेबनेपछि गगन थापा सडकमा



काठमाडौं– नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापा सडकमा धर्ना बसेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ निर्माणका क्रममा रहेका सडकहरू समयमा नसकिएको भन्दै थापा धर्ना बसेका हुन् ।


काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका थापा ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सडक तत्काल बनाउन माग गर्दै स्थानीयबासी सहित पुल्चोकस्थित सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् । काठमाडौं ४ अन्तर्गत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । तर, ठेक्का लागेको लामो समय भइसक्दा पनि काम सम्पन्न नभएपछि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध धर्ना दिएका हुन् । सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरी ठेक्का दिन लागेपछि धर्नामा बस्नुपरेको उनीहरुले बताएका छन् ।

कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए । उनीहरुले करिव एक घन्टा धर्ना दिएका थिए । काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ । शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र पारेको भन्दै स्थानीय आन्दोलनमा छन् ।

संसद्को विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ । यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ ।

प्रतिक्रिया दिनुहोस्